राष्ट्रिय विभूति शंखधर शाख्वाको नाममा चोकको नामाकरण र मूर्ति स्थापना गर्ने नेपाल आदिवासी जनजाति महासंघ, बाँकेलेज्ञापन पत्र बुझायो

नेपालगन्ज÷ नेपालगन्ज उपमहानगरपालिका भित्र राष्ट्रिय विभूति शंखधर शाख्वाको नाममा चोकको नामाकरण र मूर्ति स्थापना गर्ने बारे आज बाँकेका प्रमुख जिल्ला अधिकारी संयुक्त ज्ञापन पत्र बुझाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, बाँकेका अध्यक्ष डम्बर थापा मगरको नेतृत्वमा गएको विभिन्न १३ वटा संघसंस्थाहरुका अध्यक्ष लगायतको प्रतिनिधि मण्डलले उक्त ज्ञापन पत्र हस्तान्तरण गरेको हो ।
ज्ञापन पत्रमा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत वडा नं. १८ कारकाँदो चोकमा मल्लकालीन राजाको शासनकालमा नेपालका सबै नागरिकको ऋण तिरेर देशलाई ऋण मुक्त घोषणा गर्ने शंखधर शाख्वालाई नेपाल सम्वत् प्रचलनमा ल्याउन अनुमति दिएकोल प्रजातन्त्रको पुनःस्थापना पछि राष्ट्रिय विभूतिको रुपमा सम्मान गरिएको हुँदा उनको नाममा चोकको नामाकरण र मूर्ति स्थापना गर्ने बारे १७ वर्षदेखि पहल भइरहेको छ । तत्कालीन खासकारकाँदो गाउँ विकास समितिको मिति २०५८÷७÷५ मा भएको गाउँ परिषद्को बैठकबाट उक्त स्थान र चोकलाई राष्ट्रिय विभूति शंखधर शाख्वा चोकको नामाकरण र राष्ट्रिय विभूतिको प्रतिमा स्थापना गर्ने सर्वसम्मत निर्णय गरेको थियो र उक्त चोकका लागि नेवाः पुचः बाँकेको अगुवाई र अग्रसरतामा मन्त्रालयसम्म प्रक्रिया अघि बढाइएको थियो ।
तर, नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज नगर भित्र ‘घण्टाघर र उद्योग स्तम्भ’ निर्माण गर्ने र उक्त स्तम्भको एक भागमा राष्ट्रिय विभूति शंखधर शाख्वाको मूर्ति राख्ने सहमति र प्रतिवद्धता भएको, तर पछि संघले उपेक्षा र उदासिनता देखाएकोमा ज्ञापन पत्रमा गम्भीर आपत्ती जनाइएको छ ।
२०६६÷०१÷०४ गतेका दिन नेवाः पुचः बाँकेका तत्कालीन अध्यक्षज्यूको अध्यक्षता र तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश बहादुर खत्रीको विशेष पहल एवम् उपस्थिति र प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा सम्पन्न सर्वदलीय बैठकले वृहत छलफल गरी चोकको नामाकरण र प्रतिमा स्थापना गर्ने सर्वसम्मत निर्णय भई सर्वदलीय बैठकले गरेको निर्णयको आधारमा जिल्ला प्रशासन कार्यालय, बाँकेले मिति २०६६÷०१÷२२ गतेका दिन जिल्ला विकास समिति बाँकेको नाममा चोकको नामाकरण र प्रतिमा स्थापना गर्न सिफारीस समेत पठाएको लगायतका प्रमाणहरुको छायाँ कपिहरु समेत ज्ञापन पत्र साथ संलग्न गरिएको छ ।
ज्ञापन पत्रमा विगतमा झैं प्रमुख जिल्ला अधिकारीलाई प्रमुख राजनीतिक दल, सरोकारवाला संघसंस्थासंग समन्वय र सर्वपक्षीय बैठक बोलाई छिनोफानो गर्न आवश्यक पहल गरी राष्ट्रिय विभूतिको सम्मान र सहयोग गर्नका लागि आग्रह गरिएकोछ ।
ज्ञापन पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आफुले सकारात्मक पहल गर्ने आश्वासन दिनु भयो । प्रतिनिधि मण्डलमा नेवाः पुच बाँके, नेवाः देयः दवू बाँके, झिगु भृकुटी गुठी, नेपालगन्ज, राँझा गुठी, झिगु खल गुठी, नेपालगन्ज, भिमसेन देव गुठी, कोहलपुर, बाँके, घरवारी टोल नेवाः गुठी, नेपालगन्ज, पुरैना नेवाः गुठी, पुरैना, नेपालगन्ज, नेपाल मगर संघ, बाँके, तमु ह्यूला छों ढी बाँके, नेपाल तामाङ घेंदूङ, बाँके, नेपाल शेर्पा संघ, जि.क.स., बाँके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, बाँकेका अध्यक्ष तथा प्रतिनिधि लगायत करीब एक सय जनाको सहभागिता रहेको थियो ।
सो अवसरमा नेवाः पुचःका पार्षद् पूर्ण लाल चुकेले उक्त अभियानको विगतदेखि वर्तमानसम्म भएका गतिविधि र पहलका बारेमा जानकारी दिनु भयो भने नेवाः देयः दवू बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपाल मगर संघका सचिव गोपाल पुन, मनोज श्रेष्ठ लगायतले बोल्नु भएको नेवाः पुचः बाँकेका सचिव विवेक श्रेष्ठले जानकारी दिनु भयो ।
सो लगत्तै सोही प्रतिनिधि मण्डल नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरलाई भेटेर आवश्यक सहयोगका लागि ध्यानाकर्षण र पहलका लागि आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस