नेकपा अध्यक्ष ओली र दाहाल एक अर्काको कार्यशैलीप्रति असन्तुष्टि

प्रधानमन्त्री एवं नेकपाकै अध्यक्ष केपी शर्मा ओली आफ्ना विदेश मामिला सल्लाहकार र परराष्ट्र मन्त्रीका साथ स्वीजरल्याण्डमा रहेका बेला यता अर्का अध्यक्ष दाहालले भेनेजुएला प्रकरणमा आक्रामक विज्ञप्ति जारी गरेर सरकारलाइ असहज अवस्थामा पुर्याइदिए। ५ महिनाअघि अमेरिकाले राष्ट्रसंघमा भेनेजुएलामाथि आर्थिक नाकाबन्दीको प्रस्ताव गर्दा भारतस्थित भेनेजुएली राजदूत काठमाडौँ आएर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दासमेत अनुपस्थित रहेर तटस्थ देखिएको नेपालले यतिखेर मुख खोल्नुपर्यो । खासगरी भेनेजुएलामा निर्वाचन जितेका राष्ट्रपति निकोलस मडुरोलाइ मान्यता नदिएर आफैँलाइ राष्ट्रपति घोषणा गरेका विपक्षी नेताको पक्षमा अमेरिकाले गरेको समर्थनलाइ आन्तरिक मामिलामा साम्राज्यवादी हस्तक्षेपका रूपमा दाहालले टिप्पणी गरेपछि सरकारको धारणा स्पष्ट पार्न अमेरिकी दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयसँगै सोधिखोजी गर्दै आधिकारिक धारणा मागेका थिए ।

मंगलबार परराष्ट्र मन्त्रालयले मध्यमार्गी विज्ञप्ति जारी गर्दै भेनेजुएलाको आन्तरिक मामिला त्यहीँको संविधान र लोकतान्त्रिक प्रक्रियाले निर्धारित गर्ने मात्रै जनाएन, सडक प्रदर्शनबारे पनि नेपाल जानकार रहेको र त्यहाँका सार्वभौम जनताले गर्ने निर्णयको सम्मान गर्ने भनेको छ । विदेशनीतिबारे छलफलै नगरी लिखित वक्तव्यबाजी गरेको भन्दै यतिखेर प्रधानमन्त्री ओलीसहित पूर्वएमाले नेताहरु दाहालसँग असन्तुष्ट छन् । यसबाट सरकार र पार्टीका गतिविधि पनि प्रभावित भएका छन् ।

त्यसो त पुस दोस्रो साता स्थायी समिति बैठकमै अध्यक्ष ओलीले द्वन्द्वकालीन मुद्दा छिटो सुल्झाउनु पर्ने आसय राखेपछि पूर्वमाओवादी पंक्ति पनि सशंकित छ । द्वन्द्वकालीन मुद्धालाइ राजनीतिक रुपमा हेर्नुपर्ने पूर्वमाओवादी अडान र गम्भीर अधिकार उल्लंघनलाई राजनीतिक आवरण दिन नहुने पूर्वएमालेको मतले पनि सम्बन्धमा चिसोपना देखिएको छ ।

सरकार र पार्टी सञ्चालनमा ओलीको कार्यशैलीप्रति दाहाल असन्तुष्ट थिए । उनले संवेदनशील कूटनीतिक मामिलामा छलफलबिनै वक्तव्य जारी गरेर चिसोपना झन् बढेको हो ।

प्रतिक्रिया दिनुहोस