लोकतन्त्रलाई उपहास गर्नेहरु इतिहासमा सिमित भएका छन् : नेपाली कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजाल मिनेन्द्र रिजाल

कांग्रेसले चिकित्सा शिक्षा विधेयक सच्याएर डाक्टर गोविन्द केसीको जीवनरक्षा गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेसले विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पास गराएकोमा आपत्ति जनाएको छ ।

सभामुख कृष्णबहादुर महराले बिहीबारको प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको जनाउ दिने वित्तिकै प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएका थिए । कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले सांसद डाक्टर मिनेन्द्र रिजाललाई बोल्नका लागि समय दिएका थिए ।

प्रतिपक्षी दलको विरोधको आवाजलाई दुई तिहाईको दम्भबाट दबाउने अधिनायवादी शैलीमा सरकार अघि बढेको भन्दै सांसद रिजालले कांग्रेसले सरकारलाई अधिनायवादी बाटोमा हिँड्न नदिने चेतावनी दिए ।

उनले भने ‘कांग्रेस त देखेकै छैन भन्छ सरकारले । कांग्रेस देखेकै छैन भन्नुहुन्छ प्रधानमन्त्रीले । कांग्रेसलाई राणाले पनि देखेनन् । जुन बेला देखे धेरै ढिला भइसकेको थियो । कांग्रेसलाई महेन्द्रले पनि देखेनन् । महेन्द्रको व्यवस्थालाई प्रजातन्त्र पुनस्थापना गरेर विदा गर्यो । ज्ञानेन्द्रले देखेनन् कांग्रेसलाई । ज्ञानेन्द्रलाई विदा गर्यो । राजतन्त्रको अन्त्य गर्यो । कांग्रेस नदेख्नेहरुको लाममा कोही पनि उभिएदेखि हामीलाई धेरै ठूलो चिन्ता छैन । कांग्रेस नदेख्नेहरुले कांग्रेसलाई देख्नै पर्छ । लोकतन्त्रलाई नदेख्नेहरुले लोकतन्त्रलाई देख्नै पर्छ । त्यो भन्दा अर्को बाटो निर्माण हुन सक्दैन ।’

लोकतन्त्रलाई उपहास गर्नेहरु इतिहासमा सिमित हुँदै गएको भन्दै उनले त्यो बाटोमा नहिँड्न सरकारलाई सचेत गराए । उनले सरकारले निरिह अनसनकारी डाक्टर केसीको बोली दबाउन दुई तिहाईको दम्भ प्रयोग गरेको आरोप लगाए । सरकारकै प्रवक्ता एवं मन्त्रीले गोविन्द केसीसंग कुरा गर्न आवश्यक छैन भनेर गैह्र जिम्मेवार अभिव्यक्ति दिएर अंहकार र दम्भ देखाएको भन्दै उनले लोकतन्त्रको सही मार्ग समात्न सरकारलाई सचेत गराए । उनले वार्ता र संवादबाट तत्काल समस्या समाधान निकाल्न सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरुले उभिएर विरोध जनाइरहेपछि सभामुख महराले आगामी आइतबार अपराह्न ३ बजे अर्को बैठक बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस