कर्णाली प्रदेशको राजधानीका अधिकांश सडक जिर्ण अवस्थामा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चहल पहल नरोकिने बजार भित्रका अधिकांश सडक जिर्ण अवस्थामा रहेका छन् । राजधानी भएपछि सडक स्तरोन्नति हुनुपर्ने, तर हालत भने उस्तै छ ।

निर्माणाधिन फोरलेन सडकको अवस्था पनि त्यस्तै छ भने, त्यसैमाथि बजारको मुख्य क्षेत्रका पिच सडक भ्वाङ् परेका छन् भने, कतै खाल्डाखुल्डी परेका छन् । केही समयअघि पिच गरेका सडक कच्ची सडकभन्दा कमसल देखिएको छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे सडकले सवारी चालकदेखि पैदल यात्रुसमेत सास्ती खेप्न बाध्य भएका छन् ।

यस्ता समस्या आमनागरिकले वर्षौदेखि भोग्दै आएका छन् । स्थानीय तहले जनप्रतिनिधि पाएपछि समस्या समाधान हुने अपेक्षा गरेका नागरिक अहिले निराश बनेका छन् । डेढ वर्ष वितिसक्दा पनि जनप्रतिनिधिले व्यस्त शहरभित्रकै सडक स्तरोन्नति नगर्दा बेलाबखत आलोचना खेपिरहेका छन् ।

वीरेन्द्रनगरको बुद्धपथदेखि टेलिकम जाने सडक, घण्टाघरको माथिल्लो चोकदेखि धमला चोकजाने सडक, नेकपा पार्टी कार्यालयदेखि क्याम्पस रोड जाने सडक, घण्टाघर तल्लो चोकदेखि जिल्ला खेलकुद विकास समिति हुँदै कालिन्चोकतर्फ जाने सडकलगायत दुई दर्जन भन्दा बढी सडक कतै भ्वाङ् परेका छन् भने कतै खाल्डाखुल्डी परेका छन् ।

नगरपालिकाले केही समयअघि पिच सडकमा परेको खाल्डाखुल्डी माटोले पुरेको थियो । नगरपालिकाले पुरेको खाल्डाखुल्डी केही महिनामै उस्तै भएको छ । झण्डै १५-१६ लाख रुपैयाँ खर्चेर माटो र ढुङ्गाले पुरेको सडक अहिले जिर्ण बन्दै गएका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर बिशाल अधिकारीले बजेट स्विकृत भएलगत्तै टेण्डर प्रक्रियामा गएर काम अघि बढ्ने बताएका छन् । चालु आर्थिक वर्षमा एक करोड १० लाख बजेट रहेको भन्दै आगामी चैतदेखि सडकको खाल्डाखुल्डी पुर्ने काम अघि बढ्ने उनले बताए । ‘नगरभित्रको सडक मर्मत सुधार गर्न करिब नगरपालिकाको ४० लाख र सडक रोड बोर्डबाट ६५ लाख बजेट प्राप्त भएको छ ।’ उनले भने, ‘अबको केही दिनमै बजेट स्विकृत हुन्छ होला त्यसपछि टेण्डर प्रक्रियामा गएर काम सुरु हुन्छ । चैतसम्म काम सुरु हुन्छ ।’

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले नगरभित्रको सडकलाई तत्काल मर्मत गरिने बताए । ‘प्रदेशको राजधानी पनि हो त्यसो भएर हामी पनि यसरी जोखिम यात्रा गर्न हुन्न भन्ने हो । हामी लागी रहेकै छौँ ।’ उनले भने, ‘नगरपालिकासँग स्रोत साधन पनि कम छ । त्यसैले अहिले भनेजस्तो काम गर्न सकिएको छैन ।’

नगरप्रमुख सुवेदीले मुख्य चोकमा भएको ढल फोरलेन सडक बन्यो भने समाधान हुने बताए । ‘अहिले फोरलेन सडक निर्माणाधिन भएकाले नालीहरु राम्रोसँग सुचारु हुन सकेको छैन,’ उनले भने, ‘फोरलेन सडक बनेलगतै नाली पनि व्यवस्थापन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस