नेपालगञ्ज उपमहानगरपालिका वडा न १० मा जेष्ठ नागरिकलाई सम्मान

 

नेपालगञ्ज, माघ २२ गते– नेपालगञ्ज उपमहानगरपालिका वडा न १० मा जेष्ठ नागरिकलाई सम्मान गर्दै उत्प्रेरणा प्रदान गरिएको छ । जेष्ठ नागरिकको समाजप्रतिको योगदानलाई स्मरण गर्दै वडा कार्यालयले एक समारोहवीच ५० जनालाई सम्मान गरेको हो । ७४ वर्ष भन्दामाथिका जेष्ठ नागरिकलाई कम्वल, कदर पत्र र बाटो खर्चसहित सम्मान गरिएको हो । सम्मानीत हुनेमा २६ महिला र २४ पुरुष हुनु हुन्थ्यो । सम्मान गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापामगरले जेष्ठ नागरिकको अनुभवलाई नयाँ पुस्ताले अनुशरण गर्न सक्नुपर्ने बताउनु भयो । वडाले जेष्ठ नागरिकको आवश्यक्ताअनुसारका कार्यक्रम र योजना ल्याउन कन्जुस्याई गर्न नहुने उहाँको सुझाव थियो । वडा अध्यक्ष विन्दुभुषण बस्नेतले आगामी दिनमा जेष्ठ नागरिकका लागि थप वजेटको व्यवस्था गरिने विश्वास व्यक्त गर्नु भयो । वडा सदस्य बसन्ता जोशीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा जेष्ठ नागरिक हिरा लाल श्रेष्ठले जेष्ठ नागरिककातर्फबाट आफनो अनुभव सुनाउनु भयो । सम्मानपछि जेष्ठ नागरिकले खुसी प्रकट गर्दै वडा कार्यालयलाई धन्यवाद व्यक्त गरिरहेका थिए । यसैबीच नेपालगञ्ज उपमहानगरपालिका वडा न ३ मा पनि जेष्ठ नागरिक, एकल, विधवा महिलालाई सम्मान गरिएको छ । वडाका दुई सय जनालाई कम्मलसहित सम्मान गरिएको हो । वडा अध्यक्ष मो अयुव सिद्यीकी, उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतका अतिथीले सम्मान प्रदान गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस