भारतबाट अनाधिकृत रुपमा ल्याउदै गरेको  १ सय ५० किलो बोइलर कुखुरा सहित मोटरसाईकल नियन्त्रणमा

 प्रहरी चौकी राधापुर खजुराले भारतबाट अनाधिकृत रुपमा ल्याउदै गरेको बोईलर कुखुरा नियन्त्रणमा लिएर क्वारेन्टाईनमा बुझाएको छ । चौकीबाट प्रहरी सहायक निरिक्षक जंगबहादुर एमसीको कमाण्डमा गस्तीमा खटिएको टोलीले खजुरा–१ बेलडाँडाको माननदीको ढिकबाट बुधबार विहान ७ बजे भे ७ प २८४३ नं.को मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सो मोटरसाइकलमा बोईलर कुखुरा ल्याउदै गरेको व्यक्ति गस्तीका प्रहरीलाई देख्ने वित्तिकै मोटरसाइकल छाडेर भागेका थिए । करिव १ सय ५० किलो बोइलर कुखुरा मोटरसाईकलमा ल्याईएको हो । भारतमा बर्डफ्लु फैलिएपछि भारतबाट पन्छि र पन्छिजन्य उत्पादन नेपाल ल्याउन प्रतिबन्धित भएको कारण भरतबाट यसरी नै तस्करी गरेर बोईलर कुखुरा ल्याईने गरिएको छ ।
गत कात्तिकदेखि नेपालगन्ज र भारतीय रुपैडिहामा बोईलरको मुल्य बराबर जस्तै भएको कारण तस्करी बन्द रहेको अवस्थामा केहीदिन यतादेखि भारतमा मुल्य घटेपछि पुन तस्करी सुरु भएको हो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले भारतबाट कुखुरा ल्याउदै गरेको अवस्थामा प्रहरीले मोटरसाइकल र कुखुरा नियन्त्रणमा लिएर पशु क्वारेन्टाइनमा बुझाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस