बाँकेको डुडुवाका दुई गाउँमा केराको  बिरुवा रोपी स्मार्ट कृषि गाउँ घोषणा

नेपालगन्ज, फागुन ३
बर्षमा तीन सिजन कृषि उत्पादन र भैसीबाट दुग्घ उत्पादनमा वृद्धि गर्न बाँकेको डुडुवा गाउँपालिकाका दुई गाउलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएको छ । आज डुडुवाको बटकट्टीमा एक कार्यक्रमका बीच बाँके क्षेत्र नम्बर २ क का प्रदेश सासंद विजयबहादुर यादवले स्मार्ट कृषि गाउँ घोषणा गर्नुभयो । केराको बोट राप्दै सांसद यादवले डुडुवा गाउँपालिका वडा नम्बर ३ को हलबलडोलीलाई कृषि र हलकारापुर्वा गाउँलाई पशु पकेट क्षेत्रका रुपमा स्मार्ट कृषि गाउँको रुपमा घोषणा गर्नुभयो । स्मार्ट कृषि गाउँको घोषणा गर्दै यादवले डुडुवा वडा नम्बर ३ कृषि र भैसीपालनमा बाँके जिल्लाकै अग्रणी कृषि पकेटका रुपमा विकास हुने दावी गर्नुभयो । स्मार्ट कृषि गाउँ कार्यक्रम ठुलो योजना भएको भन्दै उहाँले डुडुवाका ३ सय घरधुरी किसानको जीवन नै परिर्वतन हुने दावी गर्नुभयो । डुडुवामा स्मार्ट कृषि गाउँ कार्यक्रम ल्याउन आफ्नो अथक प्रयत्नबाट सम्भव भएको भन्नुभयो । स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्षमा कृषि, भुमि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ बाट ५० लाख रुपैँया बजेट विनियोजन भएको छ । यो कार्यक्रम ४ बर्षसम्म निरन्तर चल्ने छ । घोषणा कार्यक्रममा कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले पहिलो बर्षमा ५० लाख प्रदेश मन्त्रालय र स्थानीय निकाय, कृषक जनश्र्रमदान गरि ६० लाखको कार्यक्रम रहेको जानकारी दिनुभयो । स्मार्ट कृषि गाउँका लागि १२ महिना कृषि बाली उत्पादन हुनुपर्ने र व्यवसायीक भैसीपालनबाट दुग्ध उत्पादनमा टेवा पुर्याउने योजना रहेको ढकालले भन्नुभयो । जसका लागि डुडुवाका दुई गाउँमा कृषिका लागि ५० विगाह खेतीयोग्य जमिन र भैसीपालनका लागि ३ सय भैसी हुनुपर्ने छ । गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरेपछि स्थानीय कृषकले खुशी व्यक्त गरेका छन् । यो कार्यक्रम कृषि ज्ञान केन्द्रको आयोजनामा स्मार्ट कृषि गाउँ कार्यक्रम संचालक समिति वनकट्टीले संचालन गर्नेछ । स्मार्ट कृषि गाउँ कार्यक्रम संचालक समिति वनकट्टीका अध्यक्ष जाहिर खाँले परम्परागत कृषि खेती र भैसीपालन अव गाउँबाट हट्ने बताउनुभयो । कार्यक्रम लागु भएपछि यहाँ तीन सिजनमा खेतीपाती हुनेछ । यस्तै सिँचाई, सडक, पानी, विद्युतको विकास हुने छ । यस्तै कृषि र पशुपालन आधुनिक पद्धति र प्रविधिबाट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस